सिरहामा जुवाडेहरुलाई पक्राउ गर्न खोज्दा झडप भएको छ भने मोरङबाट प्रहरीले १४ जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले हवाइ फायर गरेपनि सिरहामा जुवाडे पक्राउ परेनन्।
सिरहाको हनुमाननगर गाविसको पदमपुर टोलमा जुवाडे र प्रहरीबीच झडप भएको हो। झडपमा ईलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक चन्द्रदेव यादब, पदमपुरका महादेव पासवान र उनका छोरा गणेश पासवान छन्।
घाईते तीनै जनाको उपचार सिरहा अस्पताल सिरहामा भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले बताए।
उनले भने, 'जुवा चलिरहेको सूचना आएपछि प्रहरीको टोली पदमपुर पुगेको थियो। जुवाडेलाई पक्राउ गर्न खोज्दा जुवाडेहरुले ढुङ्गामुडा गर्यो।' आत्म सुरक्षाका लागि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको उनले सेतोपाटीसँग भने।
मोरङको विराटनगरबाट प्रहरीले १४ जुवाडेलाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेको प्रहरी टोलीले बिराटनगर ७ स्थित संदिप साहको घरबाट तास खेल्दै गरेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएको हो।
घटनास्थलबाट प्रहरीले १५ बुङ तास र नगद २ लाख ५२ हजार ६ सय ८१ रुपैया समेत बरामद गरेको छ। पक्राउ परेका सबैमाथि कारबाही प्रक्रिया अगाडी बढाएको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।