काठमाडौ, कार्तिक ११ । आसन्न सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु हुने विश्व राजनीतिका सर्वाधिक चचिर्त नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल प्रवेशको रुट तय भएको छ ।
विशेष विमानबाट मोदी सिधै दिल्लीबाट मंसिर ९ गते जनकपुरधाम आउनु हुने छ । जनकपुरमा रहँदा मोदीले राम जानकीको दर्शन गर्ने कार्यक्रम रहेको छ । मोदीले त्यहाँ बृहत्त जनकपुर विकासको लागि समेत छलफल गर्नेछन् । त्यहीबाट काठमाडौ आउनु हुने छ । काठमाडौंमा भने उहाँ होटल ह्यातमा नै रहने करिव पक्कापक्की भएको छ । होटल बसाईमा उहाँले राजनीतिक दलका नेताहरुसँग समेत भेटवार्ता गर्ने भएका छन् । काठमाडौमा मंसिर १० र ११ गते बसेर शिखर सम्मेलनमा भाग लिने र नेपालको संविधान निर्माणको विषयमा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्नुहुने छ ।
स्रोतको अनुसार मोदी काठमाडौबाट मंसिर १२ गते पोखरा हुँदै मुक्तिनाथको दर्शन गर्न जानेछन् । मुक्तिानथमा मोदीले करिव २ घण्टा समय विताउने बताइएको छ । मुक्तिनाथबाट सिधै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी जानु हुने मोदी त्यहीबाट काठमाडौ नआई दिल्ली जानु हुने छ । भारतको विदेश मन्त्रालयले मोदीको चाहना अनुसार नेपाल भ्रमणकोे सो रुट तय गरेको हो । यसबारे नेपाल सरकारलाई समेत भारतको विदेश मन्त्रालयले जानकारी गराईसकेको छ ।
सार्क सम्मेलनसँगै मोदीले आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफसँग समेत भेट्नेछन् । मोदीको यो भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपाल सरकारले समेत तयार थालिसकेको छ । अहिले जनकपुर र लुम्बिनीको सुरक्षा ब्यवस्था र सरसफाईलाई द्रुत गतिमा अघि बढाईएको छ ।
नरेन्द्र मोदी आसन्न सार्क शिखर सम्मेलनमा पनि चर्चाको शिखरमा रहने भएका छन् । मोदीले भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणको परम्परालाई तोड्दै नयाँ इतिहास रच्न लागेका छन् । यसपटक नेपाल भ्रमणको लागि उनको विशेष विमान नया दिल्लीबाट उड्ने छैन, न त सुरुमा काठमाडौंमै अवतरण गर्नेछ । सार्क सम्मेलनमा भाग लिन आउने भारतीय प्रधानमन्त्रीको विशेष विमान बिहारको राजधानी पटनाबाट उड्नेछ र जनकपुरमा अवतरण गर्नेछ ।
पटनाबाट भिट्टामोड चार घण्टामा आवतजावत गर्न सकिनेछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सार्क सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री स्थलमार्गबाट नेपाल प्रवेश गर्नसक्ने भन्ने सूचना मन्त्रालयलाई प्राप्त भएको जानकारी दिए ।
सचिव सिटौलाले भने, ‘भारतीय प्रधानमन्त्री मोदी स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा काठमाडौँ आएर जनकपुर जाने दुईवटै सम्भावना रहेको छ । उहाँ स्थलमार्गबाट आउनुहुने सम्भावना रहेकाले सडकको मर्मतको तयारी सुरु गरेका छौँ ।’
कांग्रेसका तर्फबाट धनुषाबाट विजयी सभासद् महेन्द्र यादवले भने भारतीय प्रम मोदी स्थलमार्गबाटै नेपाल आउने सम्भावना प्रवल रहेकाले उक्त सडकखण्ड मर्मतमा विशेष ध्यान दिन आग्रह गर्दै विकास समितिको बैठकबाटै निर्णय समेत गराए ।
गत साउनमा नेपाल भ्रमण गर्नु भएका भारतीय प्रम मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुरको भ्रमण गर्ने बताएका थिए । सचिव सिटौलाले प्राप्त सूचना र तथ्यहरूका आधारमा भिट्टामोड-जनकपुर सडक खण्डको स्तारोन्नती गर्न सडक विभाग तयार रहेको र केही दिनभित्रै सुरु गरिने बताए ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने सभासद्हरूले बैठकमा भारतीय प्रधानमन्त्री सडकमार्गबाट नेपाल भित्रने भन्ने चर्चा चलेकाले उक्त सडकखण्डको मर्मतका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको बताए । उनले भने, ‘भिट्टामोड–जनकपुर सडकखण्ड सुधार गरेर तयारी अवस्थामा राख्न तत्काल मर्मतसम्भारको काम अगाडि बढाउने निर्णय भएको छ ।’ जनकपुरबाट भारतीय प्रधानमन्त्री मोदी हवाइ मार्गबाट आउने बताइएको छ ।
भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणको इतिहासमा मोदीले पहिलोपटक काठमाडौं बाहिरबाट नेपाल भ्रमण शुरु गर्दैछन् । छ महिना यता मोदीले दुईपटक नेपालको भ्रमण गरेका छन् । मोदीको भित्री चाहना भनेको वर्षमा एकपटक भएपनि नेपाल भ्रमण गर्ने रहेको छ ।