आइएसद्वारा ८५ इराकीको हत्या





बग्दाद– अमेरिकी नेतृत्वको गठबन्धनले सुन्नी उग्रवादी समूह इस्लामिक स्टेट (आइएस) विरुद्ध इराकमा ५ र सिरियामा ५ हवाई आक्रमण गरेको बताइरहँदा आइएसले इराकमा ८५ जना आदिवासीको हत्या गरेको छ। आइएसले अन्वर प्रान्तको राजधानी रमादीको उत्तरस्थित आदिवासी गाउँ रस अल–मामा महिलासहित ५० जनालाई शुक्रबार राति लामबद्ध उभ्याएर गोली हानी हत्या गरेको हो। आफूविरुद्ध युद्ध गरेको र इस्लामिक राज्य फैलाउन रोकेको भन्दै आइएसले आदिवासीको हत्या गरेको बताइएको छ। 
आइएसले गत साता त्यस क्षेत्रमा नरसंहार सुरु गरेको थियो। आइएसले विस्थापित अल्बु निमर आदिवासीका ५० जनाको शुक्रबार हत्या गरेको आदिवासी मुखिया सेख नइम अल–गौडले शनिबार जानकारी दिए। सरकारी अधिकारीले पनि अर्को ठाउँमा ३५ जनाको शव फेला पारेको जनाएका छन्। 
अमेरिकी नेतृत्वको गठबन्धनले आइएसविरुद्ध दैनिक हवाई आक्रमण गरेर सैनिक वाहनसहित आइएस लडाकु मारेको दाबी गर्दै आएको भए पनि आइएसको आतंक र प्रभाव घट्न सकेको छैन। आइएस नियन्त्रित सिरिया र इराकको ठूलो भूभागमा अमेरिकी नेतृत्वको गठबन्धनले आइएस लडाकुमाथि हवाई आक्रमण गर्दै आएको छ। आइएसले आफू नियन्त्रित क्षेत्रमा आदिवासीलगायत सर्वसाधारणको जथाभावी सामूहिक हत्या गर्दै आएको छ। इराकी सुरक्षा निकाय आदिवासीको सुरक्षा गर्न र यस्ता सामूहिक हत्या रोक्न असमर्थ देखिएको छ। 
राजधानी बग्दादभन्दा पश्चिममा पर्ने अन्वर प्रान्तमा अल्बु निमर आदिवासी समुदायले त्यस क्षेत्र कब्जा गर्नबाट आइएस लडाकुलाई हप्तौं रोकेको थियो। तर, हातहतियार, इन्धन र भोजनलगायत आवश्यक सामग्री नपाएपछि उनीहरू युद्धमोर्चा त्याग्न बाध्य भएका थिए। त्यसपछि समुदायका सयौं लडाकु गाउँ छाडेर भागेका थिए। 
भागेका अल्बु निमर लडाकुलाई आइएसले घेरेर नजिकैबाट गोली हानी हत्या गरेको थियो। ४ दिनयता आइएसले त्यहाँ सुरु गरेको नरसंहारमा ३ सयभन्दा बढीको हत्या गरेको छ। स्थानीय आदिवासीले त्यस क्षेत्रमा आइएसले नियन्त्रण गरेपछि दैनिकजस्तै नरसंहार भइरहेकेा बताए। अहिलेसम्म आइएसले इराक र सिरिया दुवै देशको एक तिहाइ भूभाग कब्जा गरिसकेको छ। 
बग्दादस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आइएसले अक्टोबर महिनामा नै कम्तीमा १२ सय ७३ इराकीको हत्या गरेको जनाएको छ। मिसनका अनुसार मारिनेमा ८ सय ५६ सर्वसाधारण र ४ सय १७ जना इराकी सुरक्षा निकायका छन्। आक्रमणमा २ हजार १० जना इराकी घाइते भएका छन्। -




npnagariknews.com

NPnagariknews.com is your one-stop site news, All Over The World, entertainment,features,and more Things - World people liviing in different parts of the world.